नेकपाको दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले केपी ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनाएको बताएका छन् ।
काठमाडौंको प्रदर्शनीमार्गमा उक्त समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जनमतको दुत्कार गरेको आरोप लगाए ।
उनले भने, ‘तीन वर्षअघिको चुनावको विजय नेकपाको थियो, केपी ओलीको थिएन ।’ ‘बालुवाटारमा बस्ने गुट पार्टीविरोधी गुट हो, जनविरोधी गुट हो । आधिकारिक नेकपा त हामी नै हौं ।’
खनालले भने, ‘हामीले केपी ओलीलाई अपार विश्वास गर्यौ । तर, बालुवाटारमा पुगेको दिनदेखि उहाँले पार्टीलाई बिर्सनुभयो। उहाँले पार्टीलाई भर्याङ ठान्नुभयो। उहाँले गफैगफ हाँकेर तीन वर्ष बिताउनुभयो’, नेता खनालले भने, ‘कहिले पानीजहाल ल्याउनुभयो। कहिले रेल ल्याउनुभयो । भावनामा बग्नुभयो। गफ गरेर, उखान र टुक्काले देश चल्दैन । देशका लागि भिजन चाहिन्छ कमरेडहरु ।’
संविधानमाथि घात गरेको भन्दै खनालले ओलीका कामलाई स्वीकार गरे देश अस्थिरतातर्फ जाने बताए ।