logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव नेपालले भने, बालुवाटारको बालुवा पेलेर तेल निकाल्न सकिन्छ?


अंकुरण खबर
1.82K
Shares

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका छन् ।

पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए ।

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीको भृकुटीमण्डपमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’

पार्टीका कतिपय नेतालाई पनि ओलीलाई सुधार्न सकिन्छ कि भन्ने लागेको उनले बताए । ओलीतिर लागेका नेताहरुतर्फ संकेत गर्दै उनले भने, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबास भन्छु । बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु ।’ नेपालले ओलीप्रति कटाक्ष गर्दै थपे, ‘‘भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्नँ,’।

उनले भने, ‘गल्ती भयो भन्ने स्वीकार गर्नुहुन्छ, असंवैधानिक कदमबाट पछि हट्नुहुन्छ र पुनर्स्थापना गर्न तयार हुनुहुन्छ भने सबै विषयमा छलफल गर्न तयार छौं ।’ उनले प्रधानमन्त्री ओली पश्चाताप गरेर आए छलफल गर्न समेत तयार रहेको बताए ।