logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आन्दोलन गर्न काठमाडौं आएका उखु किसानको हृदयाघातका कारण निधन


अंकुरण खबर
702
Shares

चिनी मिलले उखु खरिद गरेको रकम नदिएपछि आन्दोलनका लागि काठमाडौं आएका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको छ ।

काठमाडौंको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा मंगलबार यादवको निधन भएको हो । मंगलबार बिहान यादवले ‘मलाई गाह्रो भयो’ भनेर साथीलाई भनेपछि उनलाई अस्पताल लगिएको थियो ।

यादव भगत अन्नपूर्ण सुगर मिलले बक्यौता नदिएपछि आन्दोलनका लागि काठमाडौं आएका थिए। मिलले उनलाई २४ लाख ६३ हजार रूपैयाँ तिर्न बाँकी थियो ।

उखु किसानलाई चिनी उद्योगीले बक्यौता रकम २१ दिनभित्र दिने समझदारी गरेका थिए। सरकारको रोहवरमा भएको सम्झौताप्रति यादव सन्तुष्ट नरहेका उनीसँगै काठमाडौं आएका किसानले बताएका छन् । चिनी उद्योगले पैसा नदिएपछि उनले सहकारीबाट समेत ऋण लिएका थिए । उनले १८ लाख रूपैयाँ ऋण तिर्न बाँकी छ ।

रायका ज्वाइँ महेन्द्र राय यादवले मृतक यादवको शव बुझ्न आफन्त काठमाडौं आइरहेको बताए ।

सोमबार बेलुका उनले प्रदेशसभा सदस्य केदार नन्दन चौधरीलाई फोन गरी सरकारसँग भएको सम्झौता आफूलाई चित्त नबुझेको बताएका थिए। सांसद चौधरीले उनलाई जुनसुकै हालतमा बक्यौता तिराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उखु किसान संघ नवलपरासीका महासचिव गोपाल यादवले सरकारसँग क्षतिपूर्ति माग्ने र चिनी उद्योगले नारायण राय यादवलाई तिर्न बाँकी रकम तत्काल तिर्नका लागि पहल गरिने बताए ।