नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन् ।
‘तमु (गुरुङ) समुदायको तमु ल्होसार, किराँत समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज शुभकामना दिँदैै अध्यक्ष दाहालले विविधताभित्रको एकता नेपाली समाजको विशेषता भएको तथा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यतासहितका परम्पराबीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको बताएका हुन् ।
चाडपर्वको शुभकामना दिँदै प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा आफ्नो मौलिक परम्परा भएको देश हो । हाम्रा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यता सहितका परम्पराहरु बीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको हो ।’
उनले अगाडि भनेका छन्, ‘विविधता भित्रको एकता नेपाली समाजको विशेषता हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मुर्तिकृत गरेको छ ।’
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘यतिखेर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको छ ।’
अध्यक्ष प्रचण्डले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको बताएका छन् ।