कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार, शुक्रबार र शनिबारका लागि कर्फ्यू जारी गरिएको छ ।
दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले कोरोनाभाइरसको संक्रमण जोखिम रहेका बेला नयाँ वर्षको अवसरमा भीडभाडा हुन सक्ने भन्दै तीन दिन कर्फ्यू जारी गरेको हो ।
विज्ञप्ति जारी गर्दै डीडीएमएले (३१ डिसेम्बर) आज राति ११ बजेदेखि भोलि शुक्रबार बिहानसम्म र जनवरी १ अर्थात् शुक्रबार पनि राति ११ बजेदेखि पर्सी जनवरी २ शनिबार बिहान ६ बजेसम्म कर्फ्यू लागू रहने उल्लेख गरेको भारतीय सञ्चारमाध्यामले जनाएको छ ।
यस समयमा सार्वजनिक ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाउने र नयाँ वर्ष सार्वजनिक स्थानहरूमा निषेध गरिएको छ । डीडीएमएले कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि सार्वजनिक ठाउँहरुमा भेला वा जमघट हुँदा नयाँ स्ट्रेनको भाइरस फैलिन सक्ने भन्दै सो कदम उठाएको जानकारी दिएको छ ।
त्यसैगरी, यस अवधिमा ५ जना भन्दा बढी व्यक्ति भेला हुन नपाउने र सार्वजनिक स्थानमा नयाँ वर्ष मनाउन प्रतिबन्ध लगाइएको छ ।