भोलि (शुक्रबार) सुरु हुने राष्ट्रियसभा बैठकमा पहिलो दिनको कार्यसूची सार्वजनिक भएको छ ।
संसद सचिवालयका महासचिव भरत गौतमका अनुसार पहिलो दिनको बैठकमा विभिन्न ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।
जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७’ पेश गर्दैछन् ।
यस्तै गृहमन्त्री रामबहादुर थापाले ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७’ र ‘सामाजिक सुरक्षा-पहिलो संशोधन अध्यादेश २०७७’पेश गर्ने कार्यसूची तय गरिएको छ ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ‘औषधि तेस्रो संशोधन अध्यादेश, २०७७’ पेश गर्ने कार्यसूची छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७’ पेश गर्नेछन् ।
बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यलयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
त्यसअघि अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनेछन् । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा भने सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरिसकेकी छन् ।