देशभर आइतबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।
आइतबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा पनि आइतबार राति हल्का वर्षाको सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन्। देशका विभिन्न स्थानमा वर्षासँगै हिमपात भई चिसो बढ्ने भएकोले आवश्यक सतर्कर्ता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा हिमपातसँगै हल्का देखि मध्यम वर्षा हुने र त्यस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न सुरक्षाका उपाय अपनाउन मौसमविदले आग्रह गरेका हुन्।
यस्तै तराई र पहाडी भूभागका केही स्थानहरुमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना पनि रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
अहिले बिहान देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। यस्तै प्रदेश १ र प्रदेश २ मा आंशिक बदली रहेको मौसमविदले जानकारी दिएका छन्।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।