नेपाल वायु सेवा निगमले जिम्मेवारीमा लापरवाही गर्ने मलेसिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ ।
निगमको मलेशियाको स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेसिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो ।
घटनामा निगमको मलेसिया स्टेशनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टेशन म्यानेजर युवराज आचार्य र फाइनान्स म्यानेजर इन्द्र थापालाई निगमले स्पष्टीकरण सोधेको थियो ।
चित्त बुझ्दो जवाफ नआएपछि उनीहरुलाई फिर्ता बोलाउनुका साथै होटल क्वरेन्टिनमा बस्ने यात्रुको सम्पूर्ण खर्च दामासायीले असुल उपर गर्ने गरी कारवाही निगमले गरेको हो । पोजेटिभ यात्रु आउनुमा निगमका स्टेशनमा खटिएका कर्मचारीको गम्भीर लापरवाही देखिएको निगमको निष्कर्ष छ ।
डिसेम्बर ३० मा मलेशियाबाट काठमाडौ आएको निगमको उडानमा एक जना पोजेटिभ संक्रमित समेत आएका थिए । विमानमा आएका १ सय ४५ यात्रुमध्ये ५४ जना अहिले होटल क्वारेन्टिनमा छन् । बाँकी ९१ जनालाई घर पठाइएको थियो ।