दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा दुर्घटना भएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक दाङको बबई गाउँपालिका-३ का सुमन नेपाली छन्।
दुर्घटनामा कालिमाटी गाउँपालिका–४ खैरेनी सल्यानका दीपक भनिने ईश्वर सुनार घाइते भएका छन् । उनलाई सुर्खेतको मेहलकुना अस्पतालमा प्राथमिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा एक जना बेपत्ता भएका छन् । उनको विवरण खुलेको छैन । घाइतेका अनुसार बसमा तीन जना मात्रै सवार रहेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले बताए।
बस दाङबाट रिजर्बमा सल्यान जान लागेको थियो । तर गाडी सल्यानको कुन ठाउँ र कुन प्रयोजनका लागि जान लागेको थियो भन्नेबारे केही खुलेको छैन ।
गाडी आज दिउँसो करिव तीन बजेतिर दुर्घटनामा परेको हो । अहिले स्थानीय, मेहलकुना र छिन्चु प्रहरी चौकीबाट खटिएको टोलीले बेपत्ताको खोजी गरिरहेको छ ।