कैलालीमा आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली पुगेका छन् ।
प्रधानमन्त्री ओली श्री एयरलाइन्सको हवाई जहाजबाट आज धनगढी पुगेका हुन् । प्रधानमन्त्री ओली आफू नेतृत्वको नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् । पार्टी विभाजनपछि उनी पहिलोपटक उपत्यकाबाहिर गएका हुन्।
प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थल गएनन् ।
मुख्यमन्त्रीका स्वकीय सचिव शिवसेन ओलीले मुख्यमन्त्री आन्तरिक बैठक र छलफलमा व्यस्त भएका कारण प्रधानमन्त्रीको स्वागतका लागि नगएको बताए ।
‘मुख्यमन्त्री आन्तरिक बैठक तथा छलफलहरु व्यस्त हुनुहुन्छ’, शिवसेन ओलीले भने, ‘उहाँ अफिसमै हुनुहुन्छ, स्वागतका लागि जानुभएन।’
मुख्यमन्त्री भट्ट प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा छन् । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै सडक संघर्ष सुरु गरेको छ ।
पार्टीले प्रधानमन्त्रीको कदमविरुद्ध संघर्ष सुरु गरेका कारण मुख्यमन्त्री भट्ट स्वागतका लागि विमानस्थल नगएको बताइएको छ ।