परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते भारत जाने भएका छन् ।
उनी नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन भारत जान लागेका हुन् । “जनवरी १४ (माघ १ गते) हाम्रो परराष्ट्रमन्त्री भारत जाँदै हुनुहन्छ,” प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिमको धनगढीमा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भने ।
भारतीय विदेश सचिव हर्षवर्द्धन शृङलाले गत मंसिर ११/१२ गतेसम्म नेपाल भ्रमण गर्दा भारतीय विदेश मन्त्री एस. जयशंकरले पठाएको भारत भ्रमणको निमन्त्रण परराष्ट्रमन्त्रीलाई बुझाएका थिए ।
प्रतिनिधिसभा विघटन भएपछि परराष्ट्रमन्त्री ज्ञवालीले गर्न लागेको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भ्रमणका बेला नयाँ दिल्लीमा नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठक हुनेछ । बैठकको नेतृत्व दुवै देशका विदेशमन्त्रीले गर्नेछन् ।
संयुक्त आयोगको बैठक पालैपालो दुवै देशले गर्ने अभ्यास रहेको छ । आयोगको पाँचौँ बैठक काठमाडौँ गरिएको थियो । संयुक्त आयोगको बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिन्छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणका बेला भारतबाट कोरोना खोप ल्याउने विषयमा सहमति गरी त्यसको घोषणा गर्ने तयारी गरिएको छ । नेपालले भारतबाट कम्तीमा १ करोड २० लाख कोरोना खोपको डोज खरिद गर्ने तयारी गरिरहेको छ ।
कोरोना खोपका अलावा संयुक्त आयोगको बैठकमा नेपाल-भारतबीच रहेको सीमा विवादका विषयमा पनि छलफल गरिने जनाइएको छ । बैठकमा कालापानी, सुस्तालगायतका ठाउँमा रहेको सीमा विवादका विषयमा छलफल हुनेछ ।