logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यूएईमा नयाँ स्वरुपको कोरोना सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन दूतावासको आग्रह


अंकुरण खबर
988
Shares

संयुक्त अरब इमिरेट्स (यूएई)मा विगत केही समयदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

विशेषगरि युरोपेली देशहरूमा देखा परिरहेको कोरोनाको नयाँ स्वरुप पछिल्लो समय यूएईमा पनि देखिएकाले सावधानी अपनाउन त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको हो । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार गएको जनवरी ९ तारिखमा एकै दिन दुई हजार ९ सय ९८ जनामा नयाँ सङ्क्रमण देखिएको छ ।

यूएई सरकारले अवलम्बन गरे बमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण परिपालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउन यूएईमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ । यूएईका स्वास्थ्य निकाएका अनुसार पछिल्लो समयमा देखा परेको कोरोनाको नयाँ स्वरुप बढी सङ्क्रामक रहेको छ ।

यूएई सरकारले कोरोना विरुद्धको भ्याक्सिन सातै इमिरेट्सहरूका तोकिएका स्वास्थ्य केन्द्रहरूमा निःशुल्क रूपमा उपलब्ध छ । यूएईमा रहेका नेपाली नागरिकले पनि ती केन्द्रमा गएर भ्याक्सिन लगाउन सक्ने दूतावासले जनाएको छ ।