logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेरो आश थियो की, राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ : मनीषा कोइराला


अंकुरण खबर
2.665K
Shares

अभिनेत्री मनीषा कोइरालाले सरकारले देखाएको व्यवहार निन्दनीय भएको बताएकी छन् ।

पृथ्वी जयन्ती मनाउन सोमबार दिउँसो सिंहदरबार अगाडि पुगेको समूहलाई प्रहरीले तितरबितर पार्न खोजेपछि मनीषाले सरकारको व्यवहारप्रति आपत्ति जनाएकी हुन् । सोही क्रममा सामान्य झडप समेत भएको थियो । उक्त समूहमा मनीषाको समेत उपस्थिति थियो ।

उनले भनेकी छन्, ‘मैंले आश गरेकी थिएँ की राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्ने छ । तर उसको व्यवहार उल्टो देखियो ।’

मनीषाले शान्तिपूर्ण तरिकाले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन भेला भएको समूह सामू पानीको फोहरा र टियर ग्याससहित प्रहरी पठाउने नेपालीकै सरकार कसरी हुन सक्छ ? भनी प्रश्न उठाएकी छन् ।

राष्ट्रिय एकता दिवसको दिन सरकारले देखाएको व्यवहार निन्दनीय भएको मनीषाले बताएकी छन् ।  ‘सरकार र राजनीतिक दलले भेला सभा गर्न पाउने, आम जनताले राष्ट्र निर्माताप्रति एक भई पृथ्वी जयन्ती मनाउन नपाउने ?’ उनले भनेकी छन् ।

मनीषाले आम नागरिकको भेला हुन पाउने मौलिक अधिकार खोसेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएकी छन् ।

सरकारले पृथ्वी जयन्तीको अवसरमा कुनै कार्यक्रम नगरे पनि नागरिकले स्वतःस्फुर्तरुपमा देशभर विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै आएका छन् ।