अहिले नेपालको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । साथै यी चार प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । तराईका भू-भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ भने देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
वर्षासँगै देशका विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने तथा तराईका जिल्लाहरूमा हुस्सु लागिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने काठमाडौं उपत्यकामा सोमबार न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेकोमा आज बिहानको मापनमा पाँच दशमलव पाँच डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।