स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेकालाई सम्बन्धित बिमा कम्पनीमा आफ्नो दुरुस्त विवरण बुझ्न आग्रह गरेको छ ।
कोरोना बिमा समितिमा प्राप्त भएका विवरणमध्ये कतिपयको विवरण ‘भेरिफिकेसन’ गर्दा नाम, थर, उमेर, ठेगानालगाएतका न्यूनतम विवरण अपूर्ण भएकाले बिमित व्यक्तिले एकपटक रुजुको अवस्था बुझ्न मन्त्रालयले अनुरोध गरेको हो ।
मन्त्रालयले कोरोना बिमा दाबीका लागि पेस भएका विवरणहरू रुजु गर्दा विवरण अपुग भएकाले बिमितलाई सम्बन्धित कम्पनीसँग अवस्था जानकारी लिन भनेको हो ।
स्वास्थ्य मन्त्रलायका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिमा समितिबाट जारी भएको कोरोना बिमा मापदण्ड-०७७ बमोजिम कतिपय बिमितको विवरण मन्त्रालयमा रहेका तथ्यांकसँग रुजु गर्दा भेट्टाउन नसकिएको बताए ।
हालसम्म स्वास्थ्य मन्त्रालयमा नौ हजार २९२ जनाको ‘भेरिफिकेसन’ सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पीसीआर परीक्षणका लागि दिएको व्यक्तिगत विवरण र बिमा गर्दा दिएको विवरण एउटै तथा स्पष्ट हुनुपर्ने जनाएको छ ।