आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.४६ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज बढेरै सेयर कारोबार खुलेको हो।
कारोबार खुलेको केही समय बढेको बजार दुई हजार ३१५ अंकसम्म पुगेको थियो । तर, फेरि ओरालो लाग्दै दुई हजार २९७ अंकमा पुगेपछि सम्हालिँदै बढ्ने क्रम सुरू भयो।
२८ अंक बढेपछि परिसूचक दुई हजार ३१५ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ६ अर्ब ३७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ भने एक करोड ५० लाख कित्ता सेयर किनबेच भएको छ।
आज बजारमा उत्साहजनक रौनकका साथ उकालो लागेपछि नेप्से परिसूचकले ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
बजारमा उत्साहजनक वृद्धि आएको दिन आज जलविद्युत् समूहमा भने गिरावट आएको छ। यस समूहमा आज ७.२ अंकको गिरावट आएको हो। योबाहेक अन्य सबै समूहमा सुधार आएको छ।
जसमध्ये आज व्यापार समूहमा २३२, जीवन बीमामा २२१ र लघुवित्त समूहको सूचक ११५ अंकले सुधारिएको छ। आज बजार बढेको दिन साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य सबैभन्दा बढी बढेको छ।
एकै दिन कर्पोरेसनको सेयर मूल्य ६९३ रूपैयाँले बढेर प्रतिकित्ता सात हजार ६२३ रूपैयाँ पुगेको छ।