logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आवश्यक परेमा संविधानसभामा भएको छलफलको रेकर्ड मगाउँछौँ : प्रधानन्यायाधीश


अंकुरण खबर
1.378K
Shares

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद् विघटनविरुद्धको मुद्दामा आवश्यक परेमा संविधानसभामा भएको छलफलको रेकर्ड पनि मगाउने बताएका छन् ।

आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको बहसका क्रममा प्रधानन्यायाधीश जबराले आवश्यक परेमा संविधान निर्माण गर्दा संविधानसभा भएको छलफलका रेकर्ड मगाउँने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएका थिए । त्यसका विरुद्ध सर्वोच्च अदालतमा १३ रिट परेका छन् । सबै रिटमाथि संवैधानिक इजलासमा बहस चलिरहेको छ ।

बहसका क्रममा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान निर्माणका क्रममा संसद् विघटनबारे कस्ता व्यवस्था राख्न छलफल भएको थियो भनेर जान्नुपर्ने जिकिर गरेका थिए । वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउनुपर्छ श्रीमान् । संविधान निर्माणका बेलाका कागजात मगाउनुपर्छ।‘

वरिष्ठ अधिवक्त त्रिपाठीको जवाफमा प्रधानन्यायाधीश जबराले संविधान निर्माणका वेला भएका छलफलको विवरण निवेदक सन्तोष भण्डारीले पनि उठाएको स्मरण गर्दै त्यसलाई मगाउन सकिने बताए । प्रधानन्यायाधीश जबराले भने, ‘संविधान बन्दाखेरिका कुरा यसअघि पनि उठेका छन् । हामीले नोट गरेका छौँ । आवश्यक परे मगाउँछौँ ।‘

बहसका क्रममा अधिवक्ता गिरिराज भट्टले अहिलेको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको जिकिर गरे ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस जारी रहेको छ ।