logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा विघटन मुद्दा हेर्दाहेर्दैमा, सोमबार फेरि सुनुवाइ हुने


अंकुरण खबर
819
Shares

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ ।

आइतबार बहस नसकिएपछि यो विषयलाई हेर्दाहेर्दैमा राखिएको छ, सोमबार फेरि सुनुवाइ हुनेछ ।

आइतबारको बहसमा रिट निवेदकको तर्फबाट सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्ट सहभागी भएका थिए । सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै आइतबारदेखि फेरि सुनुवाइ सुरु भएको हो ।

बहसमा रिट निवेदकका वकिलहरूले संसद् विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान सभाले संविधान लेख्दा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिने वा नदिने भन्नेमा लामो बहस भएको स्मरण गराउँदै छलफलको रेकर्ड मगाउन माग गरेका छन् ।

यसअघि रिटमा सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमा गर्ने भन्नेबारेमा मतभेद भए पनि सर्वोच्चले संवैधानिक इजलासबाटै गर्ने निर्णय गरेको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रश्मसेर जबरा, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट निवेदन परेका छन् ।