प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आलोपालो’को सम्झौता उल्लंघन गरेकाले पार्टी हुँदै देशमा संकट निम्तिएको दाबी गरिएको छ ।
अखिल नेपाल महिला संघको केन्द्रीय बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रम ओलीबाट पार्टी एकीकरण ताका भएको ‘आलोपालो गर्ने’ सहमति भंग हुँदा पार्टी हुँदै देशमा संकट निम्तिएको दाबी गरेका हुन् ।
दाहालले पार्टी एकीकरणताका पार्टी र सरकार आलोपालो गरी चलाउने सम्झौता भएको उल्लेख गर्दै भने, ‘आलोपालो गरेर पार्टी र सरकार सञ्चालन गर्ने भनियो । तर ओलीले कहिले आलोपालो गर्न चाहेनन् । ओलीबाट आलोपालोको सम्झौताअनुसार काम नभएकाले पार्टीमा विवाद भयो । अहिले देशमै संकट निम्तिएको छ ।
दाहालले अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आलोपालोमै सहकार्य भएको बताए । उनले नेपालसँग आलोपालोमा सहकार्य भइरहेका केही उदाहरण पेस गर्दै भने, माधवजी र मैले आलोपालो गरेर पार्टी सञ्चालन गर्ने सहमति गरेका छौँ । सहमतिअनुसार नै माधवजीले एउटा बैठकको अध्यक्षता गर्नुभयो । मैले एउटा बैठकको अध्यक्षता गरेँ । अबको बैठकमा माधवजीले अक्ष्यता गर्नुहुन्छ ।’