logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली र नेपाल उस्तै नेता हुन् भन्दा मलाई पोल्छ : माधव नेपाल


अंकुरण खबर
1.131K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले ओली र नेपाल उस्तै नेता हुन् भन्दा आफूलाई पोल्ने बताएका छन् ।

बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा नेपालले आफ्नो गल्ती भए स्वीकार्न तयार रहेको बताउँदै भने,  ‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ, गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ।’

उनले जम्मै नेता उस्तै हुन् भनेर समाजमा नकारात्मक भ्रम फैलाइएको पनि बताए ।

नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट धेरै पीडित भएको बताएका छन् । पार्टी एकता भन्दा अगाडि प्रधानमन्त्री ओलीबाट धेरै पीडा पाएको बताउँदै हाल उनीबाट मुक्त भएको बताए ।

‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं, उनले गुनासो पोखे, ‘केपीले बैठकमा एकताको प्रस्ताव ल्याएपछि ओलीको पेलान र प्रवृतिबाट मुक्ति पाइने भयो भनेर ठूलो राहत महसुस भयो । तर, एकतापछि फेरि विधि मिच्न थालियो । अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भो अहिले हामी ओलीबाट मुक्त भएका छौँ ।’

त्यस्तै नेता नेपालले प्रधानमन्त्री ओलीले प्रचण्ड र आफूलाई जेल कोच्ने योजना बनाएको खुलासा गरेका छन् । उनले बालुवाटारस्थित ललिता निवास प्रकरणलाई लिएर प्रधानमन्त्रीले जेल हाल्ने योजना बनाएको बताए ।

‘ओलीले पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएका थिए । ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो ।’