प्रदेश १ को सातौं हिउँदे अधिवेशनको पहिलो बैठक पाँच मिनेट मात्रै बसेर आजका लागि स्थगित भएको छ ।
बुधबार दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठक प्रदेश प्रमुखले अधिवेशन सुरु गर्नका लागि पठाएको पत्र सभामुखले पढेर स्थगित गरिएको हो । प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित भएको जानकारी दिए ।
नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय यसअघि नै गरेको थियो । त्यसैले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढे लगत्तै बैठक स्थगित भएको हुन्।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने विषयका कारण प्रदेशको अधिवेशनमा धेरैको ध्यान खिचिएको छ । नेकपाभित्रको फुटको राजनीतिका कारण कारवाही गरिएका सांसदहरुलाई आज प्रदेश संसदमा प्रवेश गर्न नदिनेसम्मको तयारी थियो।
तर, औपचारिकताका लागि संसद बैठक डाक्ने र स्थगित गर्ने विषयमा सहमति जुटेपछि तत्कालका लागि प्रदेश संसदको राजनीतिक माहोल स्थिर हुने देखिएको छ।