logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवालाई प्रदेश १ का कांग्रेस नेताहरुको सुझाव-ओली समूहलाई सहयोग गर्न सकिँदैन


अंकुरण खबर
1.066K
Shares

प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी सभापति शेरबहादुर देउवालाई प्रदेश सरकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहलाई सहयोग गर्न नसकिने बताएका छन् ।

तत्कालै प्रदेश सरकारमा सहभागी हुन पनि पार्टीले हतारो गर्न नहुने उनीहरुको सुझाव छ । प्रदेश नम्बर १ को हिउँदे अधिवेशन, नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव लगायत विषयमा छलफल गर्न देउवाले बुधबार बिहान आफ्नो निजी निवास बुढानीलकण्ठमा प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसहित नेताहरुको बैठक बोलाएका थिए ।

देउवाले बोलाएको बैठकमा सहभागी भएका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, महेश आचार्य, डा शेखर कोइराला, विश्वप्रकाश शर्मा लगायतले प्रदेश सरकारमा सहभागी नभइ बाहिरै रहनुपर्ने धारणा राखेका छन् । साथै नेताहरुले प्रदेश नम्बर १ मा ओली समूहलाई सहयोग गर्न नसकिने भनेर पनि देउवालाई सुझाव दिएका छन् ।

नेताहरुले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारेमा पनि तत्कालै निर्णय लिनु उपयुक्त नहुने सुझाव समेत दिएका छन् । ‘नेकपाको कुन पक्षसँग मिल्ने भनेर अहिले नै निर्णय नगरौं । मिल्ने पर्ने स्थिति सिर्जना भएपनि सामूहिक निर्णयका आधारमा अगाडि बढ्ने हो,’ बुढानीलकण्ठ बैठकमा नेताहरुले देउवालाई दिएको सुझावबारे जानकारी दिँदै कांग्रेसका १ जना केन्द्रीय सदस्यले भने ।

संघीय संसदको प्रतिनिधि सभा विघटन भएपछि विभाजित भएको नेकपाकै ३८ जना सांसदहरुले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बुधबार प्रदेश सभाको पहिलो बैठक बसेपनि केही मिनेटमै स्थगित भएको थियो ।

प्रदेश नम्बर १ मा ९३ जना सांसद छन् । जसमध्ये नेकपाका ६७ जना सांसद छन् । नेकपाको प्रचण्ड–नेपाल समूहसँग ३८ जना सांसद रहेको बताइए पनि पछिल्लो समय प्रचण्ड–नेपाल समूहका केही सांसद मुख्यमन्त्री राईको समर्थनमा लागेका छन् । यता,  प्रदेश नम्बर १ मा नेपाली कांग्रेसका २१ जना सांसद छन् ।