logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वडास्तरीय विरोध कार्यक्रममा सहभागी हुन देउवाको अपिल


अंकुरण खबर
3.133K
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेका छन् ।

पुस ५ गते भएको संसद् विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको कांग्रेसले बिहीबार ६,७४३ वडामा प्रदर्शन गर्दै छ ।

सभापति देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६,७४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु ।’

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो । सभापति देउवाले विघटनलाई हेर्ने दृष्टिकोणमा कांग्रेसमा फरक मत नरहेको समेत दाबी गरेका छन् ।

संस्थापन पक्षले विघटनको चर्को विरोध नगर्ने र चुनावका लागि तयार रहनुपर्ने रणनीति अबलम्बन गरेको छ भने इतर समूह पुनःस्थापनाको पक्षमा उभिएका छन् ।

सभापति देउवाले भनेका छन्, ‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमत छ । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’