अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा बुधबार ७८ वर्षीय जो बाइडेनले शपथ लिएका छन् ।
नोभेम्बर तीनमा भएको निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले पूर्व निर्धारित कार्यक्रम अनुसार बुधबार अमेरिकी संसद् भवनमा शपथ ग्रहण गरेका हुन् ।
बाइडेनले जम्मा ३५ शब्दको शपथ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बाइडेन अघि अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले पनि पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।
कोरोना महामारीका कारण शपथ कार्यक्रम सामान्य बनाइएको थियो । शपथ समारोहमा एक हजार दुई सय मानिस स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सहभागि भएका थिए ।
बाइडेनको जित प्रमाणित गर्न आयोजित संसद बैठकमा ट्रम्प समर्थकले आक्रमण गर्दा प्रहरी सहित पाँच जनाको मृत्यु भएकाले शपथ समारोहमा सुरक्षा सतर्कता बढाइएको थियो ।
शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका थिए । हिंसात्मक प्रदर्शन हुनसक्ने अनुमानले पचासवटै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
बाइडेनले उल्ट्याए ट्रम्पका नीति
बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका केही महत्वपूर्ण नीतिलाई उल्ट्याएर काम थालेका छन् । शपथ ग्रहणको केही घण्टापछि नै बाइडेनले १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर काम थालेका हुन् ।
राष्ट्रपति बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रिय प्रयासलाई लिएर कार्यकारी आदेश जारी गरेका हुन् । बाइडेनले जारी गरेको कार्यकारी आदेशमा संघीय सरकारका भवन तथा कार्यालयहरुमा मास्क लगाउन अनिर्वाय गरिएको छ ।
यस्तै उनले एक सय दिनका लागि मास्क च्यालेन्जको घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनमा अमेरिकालाई पुनः फर्काउने, पेरिस जलवायु सम्झौतामा पुनः सामेल हुने, आप्रवासी नीति सम्बन्धी कार्यकारी आदेशमा पनि उनले हस्ताक्षर गरेका छन् ।