logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राष्ट्रपति बाइडेनलाई राष्ट्रपति भण्डारीको बधाई सन्देश, दुई देशको सम्बन्ध थप प्रगाढ हुने विश्वास


अंकुरण खबर
1.417K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छन् ।

बुधबार अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हालेका बाइडेनलाई राष्ट्रपति भण्डारीले बधाई ज्ञापन गरेकी हुन् ।

नेपाल–अमेरिका सम्बन्ध सुमधुर रहेको जनाउँदै राष्ट्रपति भण्डारीले बिहीबार पठाएको बधाई सन्देशमा नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना गरेकी छन् ।

उन्नत एवं बहुआयमिक नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति बाइडेनको कार्यकालमा अझ विस्तृत एवं घनीभूत हुने विश्वास व्यक्त गर्दै भण्डारीले कोभिड–१९ समस्या सम्बोधन गर्न नवनेतृत्वलाई सफलता मिल्ने कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले आफ्ना अमेरिकी समकक्षीको कार्यकालको सफलताको कामना पनि गरेकी छन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बाइडेनको सक्षम नेतृत्वमा अमेरिकाले निरन्तर प्रगति र समृद्धि हाँसिल गर्ने विश्वास व्यक्त गरेका छन् । अमेरिकासँगको पुरानो मैत्रीलाई सबल तुल्याउने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हित र चासोका विषयमा द्विपक्षीय तथा अन्तर्राष्ट्रिय महत्वका मामिलालाई अघि बढाउन बहुपक्षीय तहमा अमेरिकी नयाँ नेतृत्वसँग सहकार्य गर्ने नेपालको चाहना व्यक्त गरेका छन् छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकाकी नयाँ उपराष्ट्रपति कमलादेवी ह्यारिसलाई बधाई सन्देश पठाउँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति निर्वाचित भएकोमा प्रशंसा गरेका छन् । लैङ्गिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तनजस्ता विषयलाई अमेरिकाको नयाँ नेतृत्वले प्राथमिकतामा राखेकामा उपराष्ट्रपति पुनले सराहना गरेका छन् ।