प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालबीचको सम्बन्धलाई सिनेमामा देखिने प्रेमजस्तो टिप्पणी गरेका छन् ।
आफूपक्षीय पत्रकारहरुको भेलामा दाहाल-नेपाललाई लक्षित गर्दै ओलीले भने, ‘कोहीकोहीले तमासा गरिरहेका छन् । हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाइरहेका छन् । सिनेमामा हिरो र हिरोइनबीच प्रेम भएको देखाए पनि वास्तवमा भएको हुँदैन । उहाँहरु त्यस्तै नाटक गरिरहनु भएको छ ।’
ओलीले आफूले नेतृत्व गरेको नेकपा रातो झण्डा फहराउने वाला पार्टी भएको बताए ।
ओलीले भने, ‘हामी रातो झण्डा फहराउने वाला हौं, पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने वाला हैनौं । सडकमा रातो झण्डा बोक्नेवाला हौं, कालो झण्डा बोक्नेवाला हैनौं । राता बेलुन उडाउनेवाला हौं, काला बेलुन उडाउनेवाला हैनौं । कसैप्रति प्रतिशोधको भावना छैन, आवेग–उत्तेजना छैन । कसैप्रति आग्रह–पूर्वाग्रह छैन । हाम्रो गन्तव्य स्पष्ट छ ।’