सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भए-नभएको निश्चित गर्न उक्त सूचनाको सक्कल प्रति झिकाउने भएको छ ।
संसद् विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा आज अधिवक्ता ओमप्रकाश अर्यालले राजपत्रको सूचनामा प्रश्न उठाएका थिए । वरिष्ठ अधिवक्ता डा. टीकाराम भट्टराईले पनि सो विषय उठाएका थिए ।
राजपत्रमा प्रकाशित भए-नभएको विषय उठेपछि इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग राजपत्रमा प्रकाशित सूचना मागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन् । ती रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
गएको आइतबारदेखि दैनिक सुनुवाइ भइरहेकोमा आजको सुनुवाइ सकिएको छ, भोलि निरन्तर रहनेछ ।