logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कोरोना नियन्त्रणका लागि १० योजना सार्वजनिक


अंकुरण खबर
728
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोना नियन्त्रणका लागि खोपको उत्पादन तथा परीक्षणलाई तीव्रता दिने योजना अघि सारेको छ ।

सोही क्रममा बाइडेनले कोरोना नियन्त्रणसम्बन्धि आफ्नो योजनाको ड्राफ्टमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति बाइडेनले मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने घोषणा गरेका हुन ।

कोरोना नियन्त्रणका लागि विभिन्न दश योजना बनाएका बाइडेनले नियन्त्रणका लागि लामो समय लागे पनि जनताले एक भएर नियन्त्रणको लडाइ लड्नुपर्ने बताएका छन् ।

पछिल्लो घोषणामा एक सय दिनमा स्कूलहरू सुरक्षित खोल्ने, अनि रङ्गशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्ने उल्लेख छ । अब अमेरिका जान चाहने अन्तर्राष्ट्रिय यात्रीहरूले त्यहाँ जानु अगावै कोरोनाभाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्नेछ ।

साथै १४ दिन क्वारेन्टिन अनिवार्य गरिएको छ । मास्क तथा सामाजिक दूरी अनिवार्य गरिएको छ अमेरिकाको ४६औँ राष्ट्रपति नियुक्त भएको भोलिपल्ट बाइडनले नियन्त्रण सम्बन्धि काम अघि बढाएका हुन् ।

यसअघि ट्रम्प प्रशासनमाथि महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोप लागेको थियो । राष्ट्रपतिले जारी गर्ने कार्यकारी आदेशहरूलाई संसद्को अनुमोदन आवश्यक हुँदैन । यसका लागि गत साता सार्वजनिक गरेको १ दशमलब ९ ट्रिलियन डलरको राहत प्याकेजको उपयोग गरिने बताइएको छ ।

सो प्याकेज पारित गर्न बाइडेनलाई सिनेट तथा प्रतिनिधिसभाको सहयोग आवश्यक पर्नेछ । हालसम्म अमेरिकामा कोभिडका कारण चार लाख छ हजार भन्दा धेरैको मृत्यु भएको छ । २ करोड ५१ लाख मानिस संक्रमित भइसकेका छन् । एजेन्सी