नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदर्शनका कारण काठमाडौंमा चल्ने सवारी-साधन अस्तव्यस्त बनेका छन्।
नेकपाले आज (शुक्रवार) काठमाडौंका ९ स्थानबाट जुलुस निकाल्ने तयारी गरेपछि सवारी-साधन अस्तव्यस्त बनेको हो । जसका कारण नागरिकलाई समेत सास्ती भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोड भएर भित्री चोकतर्फ आउने ठूला सवारी-साधनलाई ‘डाइभर्सन’ गरिएको छ ।
प्रचण्ड-नेपाल समूहको नेकपाले गरेको शक्ति प्रदर्शनले गर्दा उपत्यकामा भएको सवारी व्यवस्थापनको लागि ट्राफिक प्रमुख नै सडकमा उत्रिएका छन् । ‘आज म सडकमै सवारी व्यवस्थापनमा उत्रेको छु,’ एसएसपी जनक भट्टराईले भने,‘ उपत्यकामा आन्दोलनले गर्दा सवारी व्यवस्थापनमा समस्या छ ।’
शुक्रवार नेकपाले गरेको विरोध जुलुसका कारणले उपत्यकाका सबै जसो सडकहरुमा ट्राफिक जाम भएको छ । बालाजु, नयाँ बानेश्वर, कुपण्डोल, रत्नपार्क, माइतीघर लगायतका क्षेत्र आन्दोलनकारीहरूको भिड भएकाले सवारी आवागमन ठप्प जस्तै भएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि उपत्यकामा विरोध, नारा जुलुस र र्यालीका कारणले गर्दा उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको छ ।
लगातारको आन्दोलन र जुलुसका कारणले गर्दा आफ्नो रोजीरोटीको लागि गन्तव्यमा जानु पर्ने श्रमिक र जागिरमा जानेहरू हैरानीमा परेका छन् ।