राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान भएको छ ।
केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो ।
विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बताएको हो । विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी समेत गराएको छ ।
करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाइ छ ।
२०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।
अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेवसाइट अन्र्तगतको सवडोमेन www.censushrms.cbs.gov.npतथा केन्द्रीय तथ्याङ्क विभागको वेवसाइट www.cbs.gov.npमा गएर भर्न सकिनेछ ।
जनगणना विभिन्न प्रविधि अपनाइ गरिने उनको भनाइ छ । मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उनले बताए ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताए ।
अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभूत प्रश्नहरु राखिएको उनको भनाई छ ।


