logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महामन्त्री कोइराला निवासमा देउवा इतर समूहको बैठक बस्दै


अंकुरण खबर
1.3K
Shares

कांग्रेस केन्द्रीय समिति बैठक अगाडि सोमबार महामन्त्री शशांक कोइराला निवासमा सभापति शेरबहादुर देउवा इतर समूहको बैठक बस्दैछ ।

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार मध्यान्ह १२ बजे बैठक डाकिएको होे । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका शीर्ष नेताहरु सहभागी हुनेछन् ।

पछिल्लो परिस्थितिमा कांग्रेसले लिनु पर्ने अडान र निर्णयबारेमा सभापति इतर समूहले बैठक गर्न लागेको नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभा विघटनपछि दुई धारमा देखिएको कांग्रेस शीर्ष तहमा अब कसरी अगाडी बढ्ने कुरामा द्विविधा छ । सभापति देउवा सर्वोच्चको निर्णय मानेर अघि बढ्नुपर्ने अडानसहित तत्काल आन्दोलनको पक्षमा छैनन् अर्कातिर इतर समूह प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षमै जानुपर्ने पक्षमा दृढ छ ।

संघीय निर्वाचन क्षेत्रदेखि स्थानीय तहको वडा सम्म विरोध प्रदर्शन गरिरहेको कांग्रेसले अब के गर्ने भन्‍नेबारेमा भोलिको केन्द्रीय समिति बैठकमा निर्णय गर्ने जनाएको छ ।

पुस ५ मा संसद विघटनसँगै प्रदेश एक र बागमती प्रदेशका सरकार अल्पमतमा परेपछि कांग्रेसले सघाउने वा आफैँ नेतृत्व लिनेबारे पछिल्लो समय प्रमुख मुद्दा बनेको छ ।

सभापति देउवा प्रधानमन्त्री ओली पक्षसँग मिल्न सक्ने आँकलनका साथ इतर समूहले विरोधमा छ । ओलीसँग मिल्दा पार्टीलाई दीर्घकालिन क्षति हुने भन्दै यो समूहले विरोध जनाइरहेको छ ।

यसबीच सभापति देउवा र वरिष्ठ नेता पौडेलले प्रदेश १ र बागमती प्रदेशका केन्द्रीय नेताहरुसँग छलफलसमेत गरिसकेका छन् ।