बालुवाटार बाहिर शान्तिपूर्ण प्रदर्शन गर्न उपस्थित भएका सामाजिक अभियान्ताहरुमाथि प्रहरीले दमन गरेको छ ।
कमलपोखरीबाट माटोको टिका लगाएर बालुवाटार अगाडि शान्तिपूर्ण धर्नामा गएका अभियान्ताहरुमाथि प्रहरीले बिना जानकारी नै अचानक पानीको फोहोरा प्रहार गरेको थियो ।
प्रतिनिधिसभा विघटनको विरोधमा शान्तिपूर्ण रुपमा धर्ना दिन पुगेका व्यक्तिहरुमाथि प्रहरीले अचानक पानीको फोहोरा प्रहार गरेको थियो भने लाठी प्रहार गर्दै लखेटेको थियो ।
वरिष्ठ पत्रकार नारायण वाग्लेको नेतृत्वमा अभियान्ताहरु बालुवाटार पुगेका थिए । उनीहरुलाई प्रहरीले लखेट्दै भाटभटेनी पुर्याएको थियो। अभियानमा लेखक सञ्जीब उप्रेती, युग पाठक लगायतका साहित्यकारहरु, समाजसेवीलगायत सहभागी भएका थिए ।
त्यसअघि आजै बिहान भएको नागरिक समाजको प्रदर्शनमा पनि प्रहरीले दमन गरेको थियो। उक्त प्रदर्शनमा सहभागी २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।