logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


अंकुरण खबर
819
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खने भन्ने अलमलका बीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार बस्दैछ ।

गत पुस ७ गतेदेखि सुरु भई पुस १९ सम्म चलेको बैठक आज पुनः बस्न लागेको हो।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने बैठकमा प्रतिनिधिसभा विघटन, प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र १४ औं महाधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकको अघिल्लो दिन सोमबार सानेपामा दुई महामन्त्रीसहित दुबै पक्षका नेताहरु छलफलमा जुटेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । तर सभापति निकट नेताहरुले भने सभापतिसँगै सल्लाह गर्नुपर्ने धारणा राखेका थिए ।

पार्टी कार्यालयमा दुबै पक्षका नेताहरुको बस्नु अघि पौडेल पक्षका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए । नेताहरुले संसद विघटन असंवैधानिक भएकाले आन्दोलनका थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन घोषणा गरिहाल्ने पक्षमा नभएको नेताहरु बताउँछन् । उनले अदालतमा विचाराधीन मुद्धामा बोल्न नहुने र अदालतलाई यसो गर भनेर आन्दोलन गर्न नहुने अभिव्यक्ति दिँदै आएका छन् ।

काँग्रेसले औपचारिक रुपमा प्रतिनिधिसभा विघटनलाई असंवैधनिक भने पनि यसको पुनर्स्थापना हुनुपर्ने विषयमा जोड दिएको छैन। काँग्रेसको आजको केन्द्रीय समिति बैठकमा सडक आन्दोलन चर्काउने विषयमा नै छलफल केन्द्रित हुने सम्भावना छ ।