logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संवैधानिक इजलासमा न्यायाधीश थप्न माग, प्रधानन्यायाधीशले भने-बस्ने ठाउँ नै छैन


अंकुरण खबर
936
Shares

वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि भइरहेको बहसमा भाग लिँदै थापाले यस्तो माग गरेका हुन् । थापाले भने, ‘पाँच जनाको इजलासप्रति म विश्वस्त छु । यत्तिको विवादमा ५ जना न्यायाधीश पर्याप्त हो । तर, ठूलो विवाद भएमा संख्या थप्नुपर्ने हुनसक्छ । वकिलको संख्या पनि थप्न सकिन्छ ।’

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशको संख्या थप्नुपर्ने महसुस आफूहरुलाई पनि भए पनि भौतिक पूर्वाधारको अभाव रहेको बताए । उनले भने, ‘५ जना न्यायाधीश बसिराखेको ठाउँमा ९–१० जना कहाँबाट राख्नू ?’

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए । रिट निवेदकहरुले यो विषय निकै महत्वपूर्ण भएकोले बृहत् पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए । यसबारे लामै बहस भएपछि संवैधानिक इजलासले गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएकाले बृहत् पूर्ण इजलासमा लैजानु नपर्ने आदेश दिएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्।