प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान गरेका छन् ।
मंगलबार सम्मान समरोहमा उनले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका हुन् ।
उनले भने, ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले भने, ‘अझ बढी धुमधाम हुन्थ्यो।’
उनले हिमाल आरोहीबाट सबैले प्रेरणा लिन सक्ने भन्दै आरोहणको अनुभवलाई हल्का रुपमा नलिन आग्रह गरे । साथै, उनले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट सहयोग गर्ने आश्वासनसमेत दिएका छन् ।
नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए ।