नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबारदेखि ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरूद्ध खोप कार्यक्रम अभियानमा पठाएको शुभकामना सन्देश पढेर सुनाएका छन् ।
त्रिपाठीले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलगायतलाई धन्यबाद पनि दिएका छन् । आज १२ हजारलाई खोप दिइने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि खटिएका फ्रन्टलाइनर्स (स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविका) का लागि खोप लगाइने छ ।
काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको छ। स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमका अनुसार काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र छन् ।
काठमाडौंमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गंगालाल अस्पताललगायत छन् ।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र छन् । यस्तैभक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पतालमा केन्द्र तोकिएको छ । माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत् खोप प्रदान गरिने खोप शाखाको तयारी छ ।
भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप नेपाल ल्याइएको हो ।