नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एक नभएसम्म आफूले शान्तिको सास फेर्न नसक्ने बताएका छन् ।
ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा बुधबार पार्टी एकता अभियानको घोषणा गर्दै उनले आफूले पुस ५ गतेदेखि नै एकताका लागि अभियान थालेको बताए ।
उनले भने, ‘वाम आन्दोलनमा लागेको ६८ वर्षसम्म थाकिनँ, अब जति बाँच्छु पार्टी निर्माणमै लाग्छु । समाजवाद निर्माणमा लाग्छु ।’
सर्वोच्चमा परेको मुद्दा फैसला हुनेबित्तिकै ओलीको समूहबाट पनि दाहाल समूहबाट धेरै साथी आफ्नो अभियानमा मिसिन आउने उनको भनाइ छ ।
गौतमले भने, ‘गणतन्त्र र एकताबद्ध गराउन सफल भयौं भन्ने लागेको थियो। कम्युनिस्ट आन्दोलनले उचाइमा पुर्याएनौ भनेर कसैले पनि दोष दिन पाउने छैनन् भनेर ढुक्क भएका थियौं। तर म बाँचिरहेको अवस्थामा फुटेर जाने निश्चित भएको छ ।’
अब एकताका लागि थप जिम्मेवारीका साथ अघि बढ्ने उनले बताए । उनले भने, ‘दाहालको नेतृत्वमा रहेका केहीलाई छाडेर ठूलो पक्ष एकताका पक्षमा छ भने ओलीबाहेक उनको पक्षमा रहेका सबै एकताका पक्षमा छन् ।’ उनले यसबाट आफूहरुमा सफल हुने विश्वास पलाएको बताए ।
उनले भने, ‘अर्को बीचको पार्टीले जित्ने निश्चित छ ।’ पार्टीले जुटेर मात्र शक्ति प्राप्त गर्ने उनको भनाइ छ । उनले फुटेर गएको नेकपा मालेले एउटा पनि ठाउँमा जित्न नसकेको स्मरण गरे ।