logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बझाङ हत्याकाण्ड : वडा अध्यक्षसहित थप ३ जना पक्राउ


अंकुरण खबर
1.131K
Shares

बझाङमा भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका २ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडीलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएको हो । सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा-२ का ज्ञानबहादुर कडायत भने मंगलबार नै पक्राउ परिसकेका छन् । छबिसपाथिभेरा गाउँपालिका ३ का अमृत सिंहको मंगलबार साँझ हत्या भएको थियो । छबिसपाथिभेरा गाउँपालिका-३ को बान्नीचौर माविको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको खुँडा प्रहार गरी हत्या भएको प्रहरीको जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले काँग्रेस निकट उम्मेदवार लोकेन्द्र बोहरासँग पराजित भएका थिए । धामीले १४९ र बोहराले १७७ मत प्राप्त गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले  बताए । उनका अनुसार हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति हुन् ।