logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

निवेदकलाई न्यायाधीश मल्लको प्रश्न : बहस कति दिनसम्म लैजाने हो ?


अंकुरण खबर
4.914K
Shares

प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस सुरु भएको १० दिन भएको छ । गत आइतबारदेखि चलेको बहस बुधबार पनि जारी छ ।

बुधबाररसम्म आइपुग्दा सात वटा निवेदनमा सुनुवाइ चलिरहेको छ । संवैधानिक इजलासमा १३ थान निवेदन छन् । दैनिक चारदेखि पाँच जना कानून व्यवसायीले बहस गरेर लम्बिँदै गएपछि न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा कति दिनसम्म लम्ब्याउने भन्दै निवेदकलाई प्रश्न गरेकी छन् ।

बुधबारको सुनुवाइमा उनले ३ सयको संख्यामा कानून व्यवसायी राखिएको र उनीहरू सबै बहसमा सहभागी हुँदा मुद्दा लम्बिएको भन्दै प्रश्न गरेकी हुन् ।

वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले इजलाससमक्ष प्रतिनिधि सभा विघटनविरुद्ध धारणा राखेपछि न्यायाधीश मल्लले भनिन्, ‘यो मुद्दालाई कति दिनसम्म लैजाने विचार हो ?  एउटा मुद्दामा ३ सय कानून व्यवसायी राख्नुभएको छ । सबैले बहस गर्दा कति समय लाग्ने हो ?’

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा अदालतका कारण लम्बियो भन्ने विषय बाहिर गइरहेको भन्दै न्यायाधीश मल्लले चासो व्यक्त गरेकी हुन् ।  ‘बहिरबाट अदालतले मुद्दा लम्ब्यायो भन्ने आएको छ । समयलाई कसरी व्यवस्थापन गर्ने हो रु उनले प्रश्न गरिन् ।

जवाफमा निवेदक रहेका विघटित प्रतिनिधि सभाका सदस्य तथा नेकपा नेता कृष्णभक्त पोखरेलले त्यसमा आफूहरू सचेत रहेको बताए । उनले मुलुकको ध्यान उक्त मुद्दामा केन्द्रित भएको पनि बताए ।

‘नेपालको इतिहासमा गम्भीर रुपमा राष्ट्रको ध्यान केन्द्रित रहेको विषय भएकाले बढी कानून व्यवसायी यसमा संलग्न हुनुभएको हो । संविधान पक्षधरले ऐक्यबद्धता जनाउनुभएको छ’, उनले थपे, ‘सम्मानित इजलासले ध्यान दिनुपर्छ भनेको कुरामा पनि सचेत छौं । अधिवक्ताहरू संविधानको रक्षाका लागि आउनुभएको हो । हामीले पैसा दिएर बहस गराएका पनि छैनौं ।’