नेकपाका उपाध्यक्ष वामदेव गौतमले बैशाखमा चुनाव भए दुबै नेकपाका जनपक्षीय राम्रा उम्मेद्वारलाई भोट हाल्ने घोषणा गरेका छन् ।
ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा बुधबार पार्टी एकता अभियानको घोषणा गर्दै सभामा बोल्दै गौतमले यस्तो बताएका हुन् ।
‘प्रतिनिधिसभा पुनर्स्थापना भए दुई वर्ष भित्र पार्टी एकीकरणको काम सम्पन्न हुन्छ, तर बैशाखमा चुनाव भए हामी दुवै पक्षका राम्रा र जनपक्षीय उम्मेद्वारलाई भोट हाल्छौ’ गौतमले भने ।
गौतमले सरकारको नेतृत्व साँढे दुई वर्ष गर्ने दुई अध्यक्षबीचको सहमति तोडेर अध्यक्ष प्रचण्डले गल्ति गरेको बताए । उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ति गरेको बताए ।
दुई पार्टीबीच एकीकरण हुँदा दुई अध्यक्ष राख्ने सहमति नै गलत भएको गौतमले बताएका छन् । अध्यक्ष शक्तिकेन्द्र र समूहमा बिभाजन भएको उनको भनाइ छ । उनले नेकपा एकीकरण नभए सम्म आफू कुनै पक्षमा नलाग्ने घोषणा समेत गरेका छन् ।