नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले माघ २८ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने भएको छ ।
यस समूहको केन्द्रीय संघर्ष समितिको आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंमा आयोजना हुने यस जनप्रदर्शनलाई हालसम्मकै (इतिहासकै) विशाल बनाउनेबारे पनि कार्ययोजना बनाएको बताइएको छ ।
बैठकले प्रतिगमनविरुद्ध जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्याउनेमा जोड दिएको छ ।
बैठकलाई अध्यक्षद्वय ‘प्रचण्ड’ र नेपालले सम्बोधन गर्दै आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिँदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।
उनीहरूले केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशनसमेत दिए ।
प्रचण्ड-माधव पक्षले ९ माघमा काठमाडौंमा सभा गरेको थियो । आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाविना लाग्नुपर्ने उनीहरूको भनाइ छ ।
प्रचण्ड-माधव पक्षले आज बिहीबार बुटवलमा विरोधसभाको आयोजना गरेको छ । सभालाई दिउँसो करिब १ बजे अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको छ । ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रचण्ड-माधव पक्षले निरन्तर सडक आन्दोलन गरिरहेको छ ।