शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका अर्जुन विक धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत कैलालीमा बिहीबार भएको थुनछेक बहसपछि उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश भएअनुसार विक छुटेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुप शमशेर जवरा राणाले बताए ।
कैलालीको घोडाघोडी नगरपालिका-२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक यसअघि ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ परेका थिए ।
उनले भजनी नगरपालिका वडा नम्त्रर ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका-१० देवीनगरस्थित डेरामा ल्याएका थिए । गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फरार थिए ।
त्यसपछि पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन् ।
उजुरीपश्चात अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले विकको निरन्तर खोजी गरेको थियो ।
उनलाई पक्राउ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदालतबाट सोही मुद्दामा म्याद थप गरी अदालतमा पेस गरेको थियो । पक्राउ परेका अर्जुन विक केही महिनाअघि श्रीमतीले धोका दिएर छोडेकी भन्दै छोरालाई पिठ्युमा बोकेर ठेला चलाउँदै गर्दा सामाजिक सञ्जालमा अन्तर्वार्ता दिएपछि भाइरल भएका थिए ।