नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब केहि महिनाभित्र केपी ओलीको स्वेच्छारिता अन्त्य हुने बताएका छन् ।
बुटवलमा बिहीबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीको निरंकुशताको छिट्टै अन्त्य हुने केहि महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य गर्ने बताएका हुन् ।
‘अब हामीले ओलीको निरंकुशताको छिट्टै अन्त्य गर्दैछौं, अब केहि महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य गर्छौं,’ प्रचण्डले भने, ‘अब हामी विकास र समृद्धिको नयाँ योजना लिएर आउँदैछौं । अब हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं ।’
प्रचण्डले अहिलेको राजनीतिलाई सहि बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डोर्याउने बताए । उनले आफैले प्रस्ताव गरेको प्रधानमन्त्री नै निरंकुश बन्दा यो संकट आइपरेको उनको भनाइ छ ।
उनले प्रतिनिधि सभा विघटनको मुद्दा अहिले अदालतमा रहेको र आफूले अदालतप्रति कुनै आशंका गर्न नचाहेको उनले बताए ।‘तर सबैभन्दा ठूलो अदालत तपाईंहरु जनताको जनअदालत हो, यसको फैसला सबैभन्दा ठूलो हो,’ उनले भने ।
गणतन्त्रका लागि जनताले खेलेको भूमिका स्मरण गर्दै प्रचण्डले अहिले फेरि निरंकुश र लोकतन्त्रविरोधी शक्ति परास्त गर्न जनता त्यसैगरी जाग्नुपर्ने बेला आएको उनले बताए ।