निर्वाचन आयोगले नेकपाका दुवै पक्षका अध्यक्षलाई बैठकका लागि बोलाएको भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावको तयारीका लागि भन्दै छलफलमा सहभागी नहुने भएको छ ।
आयोगले शुक्रबार साढे ११ बजेका लागि नेकपाको दुवै समूहलाई छलफलका लागि बोलाएको थियो।
प्रचण्ड-नेपाल पक्षबाट नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान अध्यक्षको सन्देश बोकेर आयोग पुग्दैछन् । आयोगले छलफलका लागि बोलाएकाले सूचना दिनका लागि मात्र आफूहरू आयोग पुगेको नेता पोखरेलले बताए । ‘छलफलमा अध्यक्षहरू सहभागी हुनुहुन्न, हामी आयोगलाई सूचित गर्न मात्र पुग्दैछौं,’ पोखरेलले भने ।
आयोगमा पुगेका पाण्डेले आजको छलफलमा अध्यक्षहरू उपस्थित हुन नसकेको जानकारी गराउँदै अर्को छलफलका लागि आग्रह गरिने बताए ।
यस्तै, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षबाट महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सहितका नेताहरू आयोग पुग्दैछन् ।
दुवै समूहका नेताहरू अहिले आयोग पुगेका छन् ।