देशभर विभिन्न कार्यक्रम गरी नागरिक अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ सहिद दिवस मनाइएको छ ।
दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले शुक्रबार काठमाडौंमा प्रभातफेरिको आयोजना गरेको छ । रत्नपार्कस्थित शान्ति बाटिकाबाट शुरु भएको प्रभातफेरि लैनचौर पुगेको हो ।
शहीद दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद स्मारक लैनचौरमा पुगी राष्ट्रका ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओलीले सहिद स्मारकमा माल्यार्पण गरी मुलुकमा लोकतन्त्र र परिवर्तनका लागि बलिदान गर्ने महान् सहिदप्रति सम्मान व्यक्त गरे । ओलीले शहिदहरुसँग इमानको प्रतिज्ञा र देशभक्तीको अनुशरण गर्न आवश्यक रहेको बताए ।
श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताए । शहिदको सपना अनुसार नै सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढेको उनले बताए ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि सहभागी थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
जहाँनियाँ राणा शासनको विरोधमा स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । उनीहरुको सम्मानमा शहीद दिवस मनाइँदै आएको छ ।