बर्डफ्लुको बढ्दो संक्रमण रोक्न सरकारले भारतबाट हुने पशुपन्छीको आयातमा प्रतिबन्ध लगाएको छ ।
पशुसेवा विभागले भारतका विभिन्न राज्यमा फैलिएको बर्डफ्लु संक्रमण नेपालमा पनि देखिएकाले भारतबाट हुने पशुपन्छी आयातमा रोक लगाएको हो । भारतबाट रोग सार्न सक्ने वस्तुको आयात पूर्ण रूपमा रोक लगाएको विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
यसअघि शनिबार काठमाडौं जिल्ला तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ स्थित साङ्लेखोला र फुटुङका स्थानीय किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लु पुष्टि भएको थियो ।
तारकेश्वर नगरपालिकामा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ ।
विभागले बर्डफ्लु अन्यत्र फैलन नदिन आवश्यक पहल थालिएको जनकारी गराएको छ । रोग रोकथाम तथा नियन्त्रणका लागि सबै निकायलाई सतर्क अवस्थामा राखिएको पनि विभागले जानकारी दिएको छ ।
नेपालमा बर्डफ्लु भित्रिसकेकाले मासुजन्य वस्तु राम्रो सँग पकाएर मात्रै उपभोग गर्न चिकित्सकको सुझाव छ ।