संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पनि सहभागी भएका छन् ।

संसद विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव पक्षको धर्नामा आइतबार दुवै अध्यक्ष सहभागी भएका हुन् । संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड-माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ ।

धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल सहित प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभा लगायतका सदस्यहरु सहभागी छन् ।

संसद् भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम खारेजीको माग गर्दै प्रचण्ड-नेपाल पक्षका संघीय एवं प्रदेश सांसद तथा तत्कालीन संविधान सभाका सदस्य ४ दिनदेखि धर्नामा छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसअनुसार गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ मा चुनाव गर्ने घोषणा गरेकी छन् ।


