पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली जनताको मुटुमा छुरा प्रहार गरेको बताएका छन्।
आइतबार काठमाडौंमा नेपाल किसान महासंघको कन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘प्रतिनिधि सभा भंग गर्नु नेपाली सबै नेपाली जनताको मुटुमाथि छुरा हानेजस्तै हो ।’
ओलीले देशभित्रका र देश बाहिरका प्रतिक्रियावादीहरुको इसारामा नेपाली जनतालाई अपमानित गरेको प्रचण्डको भनाइ छ ।
उनले भने, ‘७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षाका लागि फेरि एकपटक जुरमुराउनु पर्ने, आन्दोलित हुनुपर्ने भएको छ । जसरी हामी हिजो निरंकुशतावादी, तानाशाहीविरुद्ध लड्यौँ । अहिले केपी ओलीको स्वेच्छाचारिता र निरंकुशताका विरुद्ध पनि लड्नु पर्नेछ ।’ एकपटक फेरि आन्दोलिन हुनुपर्ने अवस्था आएको उनले बताए ।