प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध संवैधानिक इजलासमा चलिरहेको सुनुवाईमा निवेदकका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ ।
सरकारी पक्षका कानुन व्यवसायीको बहस सोमबारदेखि सुरु हुनेछ ।
प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा १३ जनाको रिट निवेदन दर्ता भएको थियो । यी निवेदकका तर्फबाट करिब तीन सय जना कानुन व्यवसायीले वकालतनामा भरेपनि करिब ७० जनाले मात्र बहस गरेका छन् ।
सरकारी पक्षका तर्फबाट ११ जना सरकारी वकिल र त्यसबाहेक ८८ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन् । प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस चलिरहेको छ ।
निवेदकका तर्फबाट बहस सकिएपछि न्यायाधीशले सरकारी पक्षका कानुन व्यवसायीलाई अब तपाईंहरुले बहसलाई कसरी व्यवस्थापन गर्नु हुन्छ भन्दै जिज्ञासा राखेका थिए । सरकारी पक्षका कानुन व्यवसायी सुशिल पन्तले सरकारी वकिल ११ जना रहेको र बाँकी अन्य कानुन व्यवसायी रहेको जानकारी दिएका थिए ।
इजलासका न्यायाधीशले बहस दोहोरिएको र लामो चलेको भन्दै यसअघि निवेदकतर्फका कानुन व्यवसायीलाई बहस छोट्याउन पटक–पटक आग्रह गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि यो निर्णयको चर्को आलोचना भएको थियो । प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार प्रयोग गरेको निवेदकको जिकिर छ ।