नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्षकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहको केन्द्रिय कमिटीको बैठक सुरु भएको छ ।
बैठक कार्की बैंकुट बबरमहलमा स्थायी कमिटी सदस्य गणेश साहले बैठक सुरु भएको जानकारी दिए । नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका एजेण्डा प्रस्तुत गरेका छन् ।
बैठकका छलफलका एजेण्डाका रुपमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशित गर्ने प्रस्ताव तय गरिएको छ ।
यसैगरी शहिदप्रति श्रद्धाञ्जली, वर्तमान स्थितिको जानकारी, निर्वाचन आयोगबारे, संघर्षका कार्यक्रम र विविध एजेण्डा तय गरिएको छ । महासचिव विष्णु पौडेललाई निष्कासन गर्ने एजेण्डा पनि राखिएको छ ।
यसअघि प्रचण्ड-नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।
ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराउन लागिएको प्रचण्ड-नेपाल समूहले बताएको छ ।
यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएरको थियो ।